I can’t do much since I lost my sight. I can eat and I can talk! That’s okay for me; I’m happy enough. Why worry about things that have already happened? - Tulsi Maya Ghale

गोरखा सैनिकहरु आमरण अनशन बस्नु जायज छैन: गेसो

Spread the love

लण्डन – गोरखाहरुले आफ्ना माग पूरा गर्न दबाब दिनका लागि जुलाई १ देखि अनसन बस्ने चेतावनी दिइरहँदा गोरखा भूतपूर्व सैनिकहरुकै एक संस्थाले भने गम्भीर असहमति जनाएको छ ।

गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले आज आफ्ना सदस्यहरुलाई सामाजिक सन्जालमार्फत पठाएको पर्चामा अनसन बस्ने कार्य नाजायज भएको बताएको छ । अनसन बस्ने कार्यले प्राविधिक समितिको १३ बुँदे प्रतिवेदन कार्यान्वयन गर्नमा प्रतिकूल वातावरण बनाउने गेसोको ठहर छ ।

गेसोले वार्ता र सम्वादबाट नै समस्याको समाधान खोजिनुपर्नेमा जोड दिएको छ ।

प्रश्नोत्तरको ढाँचामा निकालिएको पर्चाको पूर्ण विवरण यसप्रकार छ :

विश्वभर रहनु भएका सम्पूर्ण गोरखा दिदीबहिनी, दाजुभाइ, भान्जाभान्जीहरु र तमाम नेपाली दिदीबहिनी तथा दाजुभाइ सबैमा हार्दिक अभिवादन। एकतर्फी आमरण अनशन घोषणाले उब्जाएको प्रश्नमाथि प्रश्नै प्रश्नप्रति मनन गर्न हुन हार्दिक आह्वान।

आगामी १ जुलाईदेखि गरिने भनिएको आमरण अनशन के जायज छ ?

छैन। किनकी, बेलायतको कानून, सामाजिक मूल्य, मान्यता, परम्परा, संस्कार, चलनचल्तीमा रहेको सामाजिक अभ्यासविपरीत भएको र असभ्य, अभद्र हर्कत मानिने भएकोले कुनै कोणबाट पनि आमरण अनशन जायज छैन। सबैमा हेक्का रहोस, कुनै पनि ब्यक्तिलाई आफ्नो स्वेच्छाले आफ्नो आत्मादाह/आत्म त्याग गर्न ब्यक्तिगत स्वतन्त्रता र अधिकार पनि बेलायतमा त्यत्तिकै मजबुत छ। आमरण अनशनरत ब्यक्तिको ज्यान तलमाथि भई घट्ना भएमा, त्यो ब्यक्तिगत स्वतन्त्रता, ब्यक्तिको स्वेच्छा, ब्यक्तिको स्वचाहना र ब्यक्तिगत अधिकारको रुपमा ब्याख्या हुनसक्छ।

नेपाल र बेलायत सरकारलाई, १३ बूँदे प्रतिबेदन उपर वार्ता गराउने एक मात्र उपाय आमरण अनशन मात्रै हो ?

होइन। अन्य धेरै उपायहरु थिए र छन्। त्यसको लागि सम्पूर्ण गोरखाहरू र उनीहरु आवद्ध गोरखाजन्य संस्थाहरुसंग सघन छलफल गरी उपायहरु खोज्नु पर्थ्यो र पर्छ, तर त्यसो भएन। एकतर्फी मात्रको एकल निर्णय गरी अन्य भूपू गोरखाजन्य संस्थाहरुलाई सिर्फ अनौपचारिक जानकारी गर्ने औपचारिकता मात्र भयो। यो सरासर गलत बाटो र गलत अभ्यास हो।

तपाईं र हामी आबद्ध गोरखाजन्य संस्थाहरुसंग आमरण अनशन गर्ने कि नगर्ने, किन गर्ने, गर्दा के हुन्छ, आमरण अनशन असफल भयो भने के हुन्छ भन्ने बारेमा घनिभूत छलफल भएर सबैको सहमतिमा बहुमतले निर्णय गरिएको हो ? सल्लाह र सहमती जरुरी थियो कि थिएन ?

संयुक्त सहमती र निर्णय गरिएको होइन। र गर्नु अति जरुरी थियो। किनकी, गोरखा आन्दोलन र गोराखाहरुसंग सम्बन्धित हरेक अभियान र आन्दोलनमा एउटै बुलन्द आवाज तथा मजबुत एकता अहिलेको विशेष आवश्यकता हो। गोरखाहरुको सामूहिक र जटिल सवालहरुमा हरेक गोरखा संस्थाहरुको सहकार्य र सहमती अति जरुरी छ। सहकार्य, सहमती र कार्यगत एकता अहिलेको आवश्येकता र हरेक गोरखाहरुको चाहना हो।

गत १५ जुनको जुलुस प्रदर्शनको क्रममा बेलायती रक्षा मन्त्रालय अगाडि देखाइएको ताण्डव र प्रयोग गरिएको शब्दहरु र गालीगलौचले गोरखा आन्दोलनलाई के बल पुग्छ ?

बल पुग्दैन। बरु प्रतिकूल असर पार्छ। अहिलेको धरातलीय वास्तविकता भनेको कुटनीतिक सम्बन्धलाई सुमधुर र मजबुत बनाउँदै नैतिक दबाव सिर्जना गर्ने हो जसले १३ बुंदे प्रतिवेदनउपर नेपाल र बेलायत सरकार वार्ता गर्न गराउन बाध्य होस्। तर रक्षा मन्त्रालय अगाडि देखाईएको हर्कत, प्रयोग गरिएको शब्दहरु, असभ्य र अभद्र शारीरिक हाउभाउले गोरखा आन्दोलन र वार्ताको संभावनालाई झन् कम्जोर तुल्याएको धेरै गोरखाहरुको ठम्याई छ। त्यो अभद्र हर्कतलाई त्यहाँ उपस्थित चेतनशील नागरिक, संचारमाध्यम, सरकारी कर्मचारी, मन्त्रालयका उच्च अधिकृत र सुरक्षा निकायका क्यामेरा र मन मस्तिष्कमा कैद भयो। त्यसले सिंगो गोरखा आन्दोलन, नेपाल र बेलायत सरकारको कुटनीतिक सम्बन्ध र वार्ताको वातावरण कम्जोर बनायो। अराजक र उच्छश्रृंखल गतिविधि गर्ने झुण्डको रुपमा गोरखाहरुलाई दर्ज गरायो। यसको जिम्मा जुलुस प्रदर्शन आयोजकहरुले लिनुपर्छ। त्यो दिनको जुलुस प्रदर्शन के उद्देश्य प्राप्तीको लागि आयोजना गरिएको थियो, वार्तालाई टेवा पुर्याउने वा कम्जोर बनाउँने, सारा गोरखाहरुले आयोजकको सार्वजनिकरुपमा उत्तरको अपेक्षा गरेका छन्।

आमरण अनशन, संयुक्त सत्याग्रह संघर्ष समितिको आधिकारिक र सांगठानिक निर्णय हो ?

होइन। त्यो नितान्तै ब्यक्तिगत हो भनेर सत्याग्रहका प्रवक्ता आदरणीय क्याप्टेन हिमाल राईज्यूले गैर आवासीय नेपाली संघ बेलायतको गोरखा विभागले आयोजना गरेको संयूक्त जुम बैठकमा ईज्जत र ईमानलाई सिरानी राखेर सच्चाई बताउँनु भएको छ। त्यो बैठकमा उपस्थित धेरैभन्दा धेरै भूपूहरुले उहाँको सच्चा इमान्दारितालाई कृतज्ञता पनि ब्यक्त गरेका छन्। उहाँले बैठकमा भन्नुभएको छ, ब्यक्तिहरुले आमरण अनशनको घोषणा गर्दै गर्दा म आफैंले यो बाटो बैधानिक होइन, यसले हामीलाई सही दिशानिर्देश गर्दैन, यो उपाय अपनाउँनु हुन्न । यो हामी आफैंलाई घातक साबित हुन्छ भनेर रोक्ने प्रयास गरें। तर अन्य उपायहरुको खोजी र छलफल गर्नुको सट्टा अन्य व्यक्तिहरुको नाम थपिने क्रम बढेपछि मेरो केही लागेन। त्यसकारण यसलाई हामीले ब्यक्तिगत स्वतन्त्रता/अधिकारको रुपमा लिएका छौं र हामी (सत्याग्रह) ले यो आमरण अनशनलाई नैतिक समर्थन मात्र गरेका छौं भन्ने कुरा स्पष्ट राख्नु भएको थियो। स्मरण रहोस, क्याप्टेन हिमाल राईज्यू सत्याग्रहका प्रवक्ता हुनुहुन्छ र उहाँले भन्नु भएको कुरा आधिकारिक र सस्थागत हो। आमरण अनशन गर्ने कार्य सत्याग्रह आफैंको सस्थागत निर्णय होइन भने सम्पूर्ण गोरखाहरूको कसरी हुनसक्छ, केको आधारमा अन्य गोरखा संस्थाहरुले सहमति र समर्थन गर्नु पर्ने यो जटिल र अर्थपूर्ण प्रश्न छ।

अब हुने आमरण अनशनले वार्तालाई सहज बनाउने वा दबाब पुर्याउँछ, कुटनीतिक पहल र संबन्ध मजबुत बनाउँछ, र अनशन बस्नु हुने व्यक्तिहरुको जीवन सुरक्षित रहन्छ ?

वार्ता सहज पनि हुन्न, वार्ता गर्न गराउँन दबाब पनि पुग्दैन र कुटनीतिक पहल अनि संबन्धलाई मजबुत पनि बनाउँदैन, माथि नै धेरै उल्लेख गरिसकिएको छ। कुरा रह्यो, अनशनकर्ताहरुको जीवन सुरक्षित छ वा छैन भन्नेबारे, अवश्य छैन। किनकी, गत भोक हड्तालमा पनि मुस्किल र भित्रिया विशेष पहलकदमीको कारणबाट मात्र अनशनकर्तालाई बचाउँन सकिएको हो, त्यो त स्वयम् अनशनकर्ताले पटकपटक सार्वजनिक गरिसक्नु भएको कुरा सबैलाई ज्ञान छ। भिडियो यत्रतत्र उपलब्ध छ। अनशनकर्ताको जीवन सुरक्षा गरिएको वास्तविकता थोरै ब्यक्ति र पहलकदमी गर्ने निकाय मात्र जानकार छ। अब त्यस्तो अवसर र साथ सहयोग पाउँने संभावना न्यून रहेको कुराको संकेत आइसकेको छ। उक्त संकेत २३ जुनको दिन भिसी विजेता तुलबहादुर पुनको सम्मानमा संचालन गरिएको रेल सेवा उत्घाटन समारोहको क्रममा अनौपचारिक संकेत मिलेको उपस्थित गोरखाहरुले महशुश गरेका छन् । त्यसकारण अबको अनशनकर्ताहरुको जीवन सुरक्षित छैन।

आमरणकर्ताहरुको प्राण त्यागबाट र उहाँहरुको शवसंग हाम्रो पेन्शन वृद्धि साटेर खुशीले आनन्दले सुख चयन गर्ने तपाईं हामी गोरखाहरुको चाहना हो ?

होइन। किनकी यतिका लामो समय आन्दोलनका खम्बाहरु, हाम्रो सहयात्रीहरु हामी कुनै गोरखाहरू पनि उहाँहरुलाई गुमाउँन चाहन्नौं, उहाँहरुको परिवार/छोराछोरी बिधवा, टुहुरा टुहुरी भएवापत हाम्रो पेन्शन वृद्धिमा हामी कोही पनि खुशी र सन्तुष्टि हुन्नौ र यो खालको प्राप्ति कुनै पनि मानवीय संवेदना र गोरखा चाहनाभित्र पर्दैन। त्यस कारण एउटा परिपक्व संस्था र ब्यक्तिहरुबाट यस्तो खालको अपरिपक्व, अव्यावहारिक, अराजक, अभद्र, असभ्य र उच्छ्श्रृङ्खल कार्यको अपेक्षा कुनै पनि गोरखाहरुले गर्न सक्दैनन्।

आमरण अनशनकर्ताको ज्यान गएको बेलायतको इतिहासमा कुनै नजिर छ ?

छ। यसको बारेमा धेरै सर्वसाधारण जानकार छन्। धेरै पहिलाको घट्ना होइन १९८२ ताकाको हो।

अन्य देशहरुमा पनि आमरण अनशनको अभ्यास र ज्यान गुमाएको उदाहरण छ ?

छ। अभ्यास भएको छ तर त्यस प्रकारको अभ्यास गलत साबित हुदै अनशनकर्ताको ज्यान गएको ज्वालन्त उदाहरणहरुको तस्बिर र भिडियोहरु प्रशस्त छन् हेर्न सकिन्छ।

गोरखाहरू आमरण अनशनको पक्षमा छन् ?

छैनन्। किनकी यो एकल निर्णय एउटा संस्थाको एकतर्फी निर्णय अरु गोरखाजन्य संस्थाहरुसंग संबाद र छलफल नगरी गरिएको निर्णय हुनाले सहमति, सहकार्य र समर्थनको पक्षमा गोरखाहरू छैनन्। छैनन्। किनकी यसले नेपाल र बेलायत सरकारको कुटनीतिक संबन्ध र बार्ताको बाताबरण खलबलाउने भएकोले गोरखाहरू सहमति, सहकार्य र समर्थनको पक्षमा छैनन्। छैनन्। किनकी बेलायतको कानून, सामाजिक मूल्य, मान्यता, परम्परा, सस्कार, चलनचल्तीमा रहेको सामाजिक अभ्यास विपरित भएको र असभ्य, अभद्र हर्कत मानिने भएकोले गोरखाहरू सहमति, सहकार्य र समर्थनको पक्षम छैनन्। छैनन्। किनकी नेपाल, बेलायत र विश्वलाई कोरोना, राजनीतिक अस्थिरता र अन्य प्राकृतिक प्रकोपको कारण पनि अहिलेको अबस्थालाई मध्ये नजर गर्दै १५ दिने अन्तिम चेतावनीसहितको आमरण असशनको घोषणा व्याबहारिक नभएको र बार्ताको लागि अनुकूल वातावरण बनाउँनु भन्दा पनि प्रतिकूल हुने भएकोले गोरखाहरू सहमति, सहकार्य र समर्थनको पक्षमा छैनन्।

यदि त्यसो हो भने अबको कदम र उपाय के हो ?

हामी सम्पूर्ण गोर्खाजन्य संस्थाहरु सहमति, सहकार्य र कार्यगत एकतामा रहेको अवस्था भएकोले अबको कदम, बाटो र उपायहरु संयुक्त संवाद, छलफल र सहमतिको आधारमा तय गर्ने हो। यतातिर हाम्रो गति उन्मुख हुनु जरुरी छ। एकल निर्णय, दम्भ र अहमबाट गोरखा आन्दोलनको प्राप्ति र सफल संभव छैन त्यसकारण यतातिर ध्यान केन्द्रित हुने जरुरी छ। यसको लागि सम्पूर्ण गोरखाजन्य संस्थाहरु र हरेक भू पू गोरखा तथा गोर्खा सन्ततिहरुप्रति गेसो विनम्र हार्दिक अपिल गर्दछ। जय गोर्खा।