I can’t do much since I lost my sight. I can eat and I can talk! That’s okay for me; I’m happy enough. Why worry about things that have already happened? - Tulsi Maya Ghale

बेलायती सरकारले रेल त चलायो समान पेन्सन कहिले ?

Spread the love

घटना केही दिन अघिको हो । जष्टिस फर गोर्खा अर्थात ‘गोर्खालीलाई न्याय देउ’ भन्दै हजारौं मान्छेहरु लण्डनको १० डाउनिङ स्ट्रीटमा भेला भए । गोर्खालीको स्ट्याचुमा फूल चढाई बेन बाजा सहित व्रिटिस संसदमा गएर आफ्ना मागपत्र थम्याए । पत्रमा लेखिएको थियो–‘यदि हाम्रो माग सम्वोधन भएन भने हामी भोक हड्ताल गर्न वाध्य हुनेछौं ।’ गोर्खालीहरुले राख्दै आएकोसमान काम, समान पेन्सनको मागलाई बेलायती सरकार र जनताले पनि सम्वोधन गर्नु पर्छ भन्दै आएका छन् । तर सुनुवाई हुन भने सकेको छैन । नेताहरु यो समस्या समाधान होस् भन्ने चाहन्छन् । केही हल पनि भएका छन् । तर पुराना गोर्खा जसले आफ्नो खुन पसिनाको मुल्य पाएका छैनन् ।

केही MOD मा ठूला जनरलहरुले आफ्नो बेइज्यत भएको भनेर कुनै पनि हालतमा समान पेन्सन र सुविधा हुनु हुँदैन भन्दै रोकेर राखेको जस्तो लाग्छ । उनीहरुले नै बेलायती नेता तथा जनतालाई भ्रमित बनाएका हुन् की भन्ने आशंका उब्जेको छ । अथवा जुँगाको लडाँइ भएको छ । कुनै बेला कहिल्यै सुर्य नअस्ताउने देशका रुपमा बेलायतको प्रतिष्ठा थियो । गोर्खालीहरुको सहयोगमै बेलायतले त्यो प्रतिष्ठा हासिल गरेको थियो । तर गोर्खाहरुका सन्दर्भमा ठूलो छाति देखाउन बेलायत सरकारले सकेन । आफ्नो माग राख्दा राख्दै कयौं गोर्खालीहरु दिवंगत भइसकेका छन् । करिव दश हजार बाँकी होलान । यिनिहरुका लागि समान पेन्सनको मामिला बेलायतका लागि आर्थिक दृष्टिले कत्ति पनि ठूलो कुरा होइन । समान तलव तथा पेन्सनको मागका साथ गोर्खालीहरु भोक हड्तालमा उत्रे भने बेलायतको अन्तर्राष्ट्रिय साँख कहाँ पुग्ला ? यस भन्दा अघि पनि गोर्खालीहरु भोक हड्तालमा उत्रन लागे पछि विश्वभर ठूलो तहल्का मच्चिएको थियो । प्रख्यात अभिनेतृ तथा अधिकारकर्मी जोहना लुम्लेको मध्यस्थतामा भोक हड्ताल कार्यक्रम फिर्ता लिइएको थियो । तर माग सम्वोधन भएन ।

अब हुन लागेको भोक हड्ताल अन्तिम तथा निर्णायक हो । कि गोर्खाको माग सम्वोधन हुनेछ, कि त गोर्खाहरु भोक हड्ताल गर्दा गर्दै मर्नेछन् । भोक हड्ताल हुनु अघि नै माग सम्वोधन गरेमा बेलायतको इज्जत बच्नेछ । भिसी तुलबहादुर पुनको नाममा हालै बेलायतमा रेल संचालन गरिएको छ । त्यसको उद्घाटन बडो तामझामका साथ भएको थियो । गोर्खालीलाई खुशी बनाएर समान पेन्सनका लागि हुन गइरहेको भोक हड्ताल रोक्ने नियतका साथ यो निर्णय गरिएको होइन भने अत्यन्त स्वागत योग्य हो । हरेक दिन विश्वका ५–७ जना सरकार प्रमुख तथा राष्ट्र प्रमुख पुग्ने लण्डनमा गोर्खालीको नाममा रेल चल्नु भनेको नेपालीका निम्ती सानो गौरवको कुरा होइन । तुलबहादुर पुनका लागि त यो धेरै ठूलो इज्जत हो । नेल्शन मण्डेला, गान्धी जस्ता महान व्यक्तिका नाममा सरकारी रेल चलिरहेको परिप्रेक्ष्यमा लण्डन जस्तो ठाउँमा तुलबहादुरका नाममा सरकारी रेल चल्नु ठूलो कुरा हो । इज्जत भन्दा ठूलो कुरा केही पनि छैन । इज्जतका अगाडि पैसा केही पनि होइन । पैसाको बलमा सरकारी रेल आफ्नो नाममा नामाकरण गर्न कसैले सक्छ ? असम्भव, जति सुकै धनि मान्छेले पनि सक्दैन । तर विभेदका वीच दिइएको सम्मानले झन् पेट पोल्दो रहेछ । बेलायत जस्तो सभ्यताको शिखरमा पुगेको मुलुकले यो कुरा बझ्न ढिलाई गरिरेहको छ । यस्तो ढाक छोपका भरमा विभेद कतिन्जेल लुकाउन सकिन्छ र ? दक्षिण अफ्रिका सजिलै स्वतन्त्र भएको होइन । धेरै मानिसको रगत बगेको छ । स्वतन्त्र आन्दोलनका अगुवा नेल्शन मण्डेलाले त २७ वर्ष जेलमै बिताए । भारतलाई स्वतन्त्र बनाउन महात्मा गान्धीले दशकौंसम्म संघर्षको नेतृत्व गरे । बेलायतले भारत र दक्षिण अफ्रिकासँग घुँडा टेकेको होइन । आफूलाई कष्टमा होमेर गरिने शान्तिपूर्ण आन्दोलन अर्थात सत्याग्रहको शक्ति एटम बम भन्दा समाथ्र्यवान हुन्छ । त्यसैले गोर्खालीहरुले गर्न लागेको भोक हड्ताल प्रति बेलायति जनताले धेरै ठूलो सहानुभूति प्रकट गरेका छन् । भोक हड्तालमा उत्रनु अघि नै गोर्खालीहरुको माग सम्वोधन भएको देख्न बेलायति जनता चाहन्छन् ।

बस्तवमा भन्ने हो भने समान पेन्सनको संघर्ष धेरै वर्ष पहिले हुनु पर्ने थियो । तर अहिले त पूर्व गोर्खामध्ये ९० प्रतिशतको निधन भइसकेको छ । उनीहरु लडाँइ पछि खाली खुट्टा र खाली हात घर फर्काइए । जसले पेन्सन समेत पाएनन् । लडाइँमा लाखौं मरे । जसको रगत र पसिनाको मुल्य तिनका परिवारले महशुस गर्नै पाएनन् । अहिले जिवित रहेका करिव दश हजारले माग राख्ने मौका पाएका छन् । बेलायतले पनि विभेद अन्त्य गर्ने मौका पाएको छ । यो मौका चुकायो भने बेलायत विश्व इतिहासमा बद्नाम हुने कुराले त्यहाँका जनता चिन्नित छन् । किनभने बेलायत रहेसम्म गोर्खाहरुको इतिहास रहन्छ । इतिहासको अभिलेखमा विभेदको मामिला सँधैका लागि दर्ज हुने सम्भावनाका कारण बेलायती जनता चिन्तित छन् । यति ठूलो योगदान गर्ने गोर्खालीहरु माथि यति ठूलो विभेद गरिएको रहेछ भनेर भावि सन्ततीले आफुहरुलाई धिक्कार्ने त होइनन् ? भनेर चिन्ता प्रकट गर्नेहरुको जमात बेलायतमा उल्लेख्य छ । जसको साथ सहयोगले पनि गोर्खाहरुमा भोक हडतालका लागि हिम्मत पलाएको हो । वास्तवमा अब गोर्खालीको माग पुरा गर्नु नै बेलायतका लागि जित हो । यता गोर्खालीलाई आत्मा सम्मान प्राप्त हुने उता अब करिव दश हजार मात्रै बाकी रहेकोले बेलायतलाई ठूलो आर्थिक भार पनि नपर्ने । १० हजार मध्ये पनि धेरै जसो त ८० वर्ष उमेर नाघिसकेका छन् ।

विश्वव्यापीकरणको यो युगमा गोर्खालहिरु सँग धेरै विकल्प छन् । विभिन्न मुलुकहरुले गोर्खालीहरुलाई खोजी खोजी आफ्नो सुरक्षा निकायमा भर्ती गर्छन् । तर गोर्खालीहरुको लगाव भने बेलायत प्रति नै छ । किनकी दुई सय वर्ष भन्दा लामो सहकार्य भएको छ बेलायतसँग । गोर्खालीहरु बेलायतलाई आफ्नो मातृभूमिपछि सबै भन्दा बढी माया गर्छन् । बेलायतलाई आफ्ना पुर्खाहरुको कर्म भूमी ठान्छन् गोर्खालीहरु । बेलायतको प्रतिष्ठालाई आफ्नो पनि प्रतिष्ठा ठान्छन् गोर्खालीहरु । बेलायतले विश्व विजय गर्दाको इतिहासमा आफूहरुको नाम समेत लेखिने भएकोले बेलायतसँग गोर्खालीहरुको विशेष लगाव छ ।

बेलायत जस्तो मुलुकसँग आफ्नो खुन पसिनाको यथोचित मुल्य पाउन गोर्खालीहरु भोक हड्तालमा उत्रनु भनेको सानो घटना हुँदै होइन । भावि इतिहासमा महत्वपूर्ण घटनामध्ये यो घटना पनि अंकित हुने निश्चित छ । गोर्खाली र बेलायती जनताका निम्ति यहाँ भन्दा दुःखद कुरा अर्को हुने छैन । बेलायतीहरु सगौरव भन्ने गर्छन्–‘भविष्यमा विश्वमा पाँच वटा बादशाह मात्रै बाँकी रहने छन् । एक जना बेलायतको राज संस्था, अरु चार जता तासका ।’ तर बेलायती महारानीको इतिहास लेखिँदा अंगरक्षकका रुपमा सेवा सुरक्षामा खटिएका गोर्खाहरुको पनि लेखिन्छ र गोर्खालीहरुमाथि भएको विभेद पनि लेखिन्छ । यस्तो अभिलेखले बेलायती राज संस्थाको प्रतिष्ठा बढ्ला ? बेलायती जनताहरु राज संस्थालाई औधी माया गर्छन् । आफ्नो राजसंस्थाको इज्जत माथि कुनै पनि हालतमा दाग नलागोस भन्ने बेलायति जनता चाहान्छन् ।
विगतमा आर्थिक मामिला पनि थियो होला । थोरै सुविधा दिएर धेरै काम लगाउन सकिन्छ भनेर बेलायतीहरुले गोर्खालीलाई रोजेका थिए होलान । गोर्खालीहरुलाई आफ्नो सेनामा भर्ना गरेपछि आफ्नो उपनिवेश भारतमा सुरक्षाको थ्रेट नहुने, अर्कातिर गोर्खालीहरुको बहादुरीलाई सस्तो मुल्यमा अरु देश सँग भिडाउने रणनीति त्यतिबेला थियो होला । यसलाई स्वभाविक रुपमा लिनु पर्ने हुन्छ । तर आजको मामिला आर्थिक होइन । माथि नै उल्लेख गरियोकी पेन्सन दिनु पर्ने गोर्खालीहरुको संख्या १० हजार भन्दा माथि छैन, त्यसमा पनि धेरै जसो ८० वर्ष माथिका छन् । त्यसैले यो पैसाको कुरा होइन, बेलायतको ‘डिग्निटी’ र ‘मोरल’को कुरा हो । बेलायती राजसंस्थाको प्रतिष्ठाको मामिला पनि हो । हिटलरलाई तह लगाउने, जापानलाई घुँडा टेकाउने, सद्दाम हुसेनलाई हायल कायल पार्ने गोर्खालीहरु बयोवृद्ध अवस्थामा बेलायतको सडकमा बसेर न्याय मागरिहेको दृष्यलाई प्रसारण गर्न अन्तर्राष्ट्रिय मिडियाहरु आतुर देखिन्छन् ।